साउन २७। नेपाली कांग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा सभापति शेरबहादुर देउवाले पार्टी विभागमा गरेको मनोनयनप्रति १२ जना केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा विरोध जनाएका छन् । आज विज्ञप्ति जारी गरेर १२ जना केन्द्रीय सदस्यले पार्टीको १४औँ महाधिवेशन प्रभावित पार्नेगरी विभागहरू गठन गरेर निष्पक्षतामा प्रश्न उठाउने काम गरेको आरोप लगाएका छन।
‘हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौं। हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएका छौं। अहिले आएर सभापति ज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति विधानको संरक्षक,पालक र कार्यान्वयनकर्ता पनि हो। कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ। कस्तो कांग्रेस बनाउने, विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो।’
विभाग गठनमा कांग्रेसका प्रभावशाली युवानेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले सामूहिक रुपमा विरोध जनाएका हुन् । उनीहरुले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न पनि आग्रह गरेका छन् ।