असोज २०, ज्वाईलाई छोरा भनेर नागरिकता बनाएको आरोपमा सल्यान प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नं ७ दाङ घर भई हाल सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं ७ बस्दै आएका वर्ष २३ का समीर मियाँ भन्ने ईमाम बक्स मियाँ रहेकाछन् ।
इँमाम बक्स मियाँ नाताले मुस्ताजका ज्वाईँ हुन तर छोरा बनेर नागरिकता लिए । इँमामको घर दाङ हो उनका बुवा विसमुल्ला मियाँ हुन। दाङबाट पटक पटक नागरिकताको लागि पहल गर्दा र सिफारिस गर्दा समेत उनको नागरिकता नबनेपछि उनी ससुरालाई बुवा बनाएर नागरिकता लिन सल्यान आए।
छत्रेश्वरी गाउँपालिका वडा नं ७ को सिफारिसमा उनले मिति २०७५ साल भाद्र २४ गते मुस्ताज मियाँको छोरा समीर मियाको नाममा नागरिकता लिएका थिए ।समीर मियाँको नामबाट नागरिकता लिए पनि उनको वास्तविक नाम भने ईमाम बक्स मियाँ हो।
जिल्ला प्रहरी कार्यालय सल्यानले दुवैजनालाई पक्राउ गरी नेपाल नागरिकता ऐन २०६४ (संशोधन सहित) बमोजिम जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताएका छन।