नेपाली कांग्रेस सल्यानले सदरमुकाम खलंगामा वृहत शक्ति प्रदर्शन गरेको छ। सरकारको सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्ध नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनको कार्यक्रम बमोजिम सल्यानमा पनि विरोध प्रदर्शनको विशाल कार्यक्रम भएको हो। सल्यानका १० वटै स्थानीय तहका नेता कार्यकर्ता, भ्रातृसंगठन र शुभेच्छुक संस्थाका
नेता कार्यकर्ताले खलंगा बजार बजार भरिएको थियो। बालमन्दिरबाट शुरु भएको र्याली खलंगा बजार परिक्रमा गरी पुरानो बसपार्कमा आएर सभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले वर्तमान सरकारको सर्वसत्तावाद, भ्रष्टाचार अनि कोभिड विरुद्धको अकर्मण्यताका विरुद्ध देशव्यापी प्रदर्शन गर्न कांग्रेस बाध्य भएको बताएका छ्न। नेता रेग्मीले नेपाली धर्ती, नेपाली माटोले चिनेको, राष्ट्रिय भावनाले ओतप्रोत भएको नेपालको एकमात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस रहेको बताए। उनले केपी ओली सरकारले पानी जहाज, चुलोचुलोमा ग्यांसको पाइप र रेलको सपना देखाएर सार्वभौम जनतालाई ढांटेर सत्तामा पुगेर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए। नेता रेग्मीले केपी ओलीको गणतन्त्रको आन्दोलनका बेला गणतन्त्र ल्याउनु भनेको वयलगाढा चढी अमेरिका पुग्न खोज्नु जस्तै हो भन्ने दिएको अभिव्यक्ति र अहिलेको उनको शासनशैली गणतन्त्र विरोधी रहेको बताए।
नेपाली कांग्रेस, सल्यानका सभापति एवं कार्यक्रमका सभापति समेत रहेका नेता गणेश चन्दले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रको प्रयाय नै भएको स्मरण गराउदै लोकतन्त्रका लागी पौडेलले गरेको योगदान भुलेर तनहुँमा भएको ज्यादती लोकतन्त्रमाथीको आक्रमण भएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाहले समाजको रुपान्तरण गर्ने र मुलुकको काँचुली फेर्ने सामर्थ्य केवल नेपाली कांग्रेससँग मात्र भएको बताएका छन। वर्तमान कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त भएको र काण्डैकाण्डमा मुछिएको पनि बताए।
नेपाली कांग्रेसका नेता एवं जिल्ला विकास समितिका पूर्व सभापति ध्रुवराज पुरीले अधिनायकवाद कुनै मुलुकमा सफल नभएको र नेपालमा सर्वसत्तावाद लाद्ने दिवासपना नदेख्न कम्युनिस्ट सरकारलाई चेतावनी दिएका छ्न। हिजो हाम्रो सम्पत्ति लुटेर सामन्तीको बिल्ला भिराउने कम्युनिस्टहरू आज महासामन्त भएका बताए।
नेपाली कांग्रेसका नेता एवं प्रदेश सभाका नेपाली कांग्रेसका उमेदवार एकराज डिसीले नेपाली कांग्रेस सधैं जनताको अभिमतबाट चल्ने र अभिमतको सम्मान गर्ने पार्टी भएकाले शालीन प्रतिपक्षको भुमिका निर्वाह गर्दा यसलाई कांग्रेसको कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छ्न।
नेपाली कांग्रेसका सहसचिव सन्तोषसेन ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि प्रेमबहादुर डाँगी, नेपाली कांग्रेसका प्रदेश क सभापति गोरख केसी, प्रदेश ख सभापति एवं छत्रेस्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य लोकराज आचार्य, शारदा नगरपालिका प्रमुख शुरेश अधिकारी, नेपाल शिक्षक संघ, सल्यानका अध्यक्ष एकराज बुढाथोकी, महिला संघकी नेतृ पदमा शाह, नेविसंघका उपाध्यक्ष प्रेमनारायण बिकले पनि मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन नेपाली कांग्रेस, सल्यानका सचिव प्रकाश भण्डारीले गरेका थिए।