अक्सिजनको अभावमा कोरोना संक्रमित छटपटाउन थालेपछि वैशाख अन्तिम सातादेखि उनीहरूले फेसबुकमार्फत् ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान चलाएका थिए। सो अभियानबाट एक हप्तामा पाँच लाखभन्दा बढी रकम संकलन भएपछि २० थान सिलिन्डर किनेर जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरेेेको अभियन्ता गोविन्द आभाष शर्माले जानकारी दिए। ठूलोखाले अक्सिजन सिलिन्डर २० वटा आइतबार उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीको उपस्थितिमा अस्पताल प्रशासनलाई दिएको शर्माले बताए।
अभियन्ता शर्माले भने- “अक्सिजनको अभावमा अस्पतालमा बिरामी छटपटाइरहेको खबर सुन्दा हामीले सन्चालन गरेको अभियानलाई विश्वास गरि सहयोग गर्ने देश तथा बिदेशमा रहनु हुने सहयोगी मनहरुलाई धन्यवाद दिदैँ आभार प्रकट गर्दछौ।”
अर्का अभियन्ता एवं पत्रकार आशिष केसीले पाँच लाख २१ हजार रकम संकलन भएकोमा चार लाख चालिस हजारमा अक्सिजन सिलिन्डर किनेको र बचेको बाँकी पैसा पनि कोभिड बिरामीकै लागि खर्च गर्ने र सो रकमको दुरुपयोग नहुने कुरामा विश्वस्त रहन सबैमा हार्दिक अपील गरेका छन।
उक्त परोपकारी अभियान हपिस भण्डारी, आशिष केसी, गोविन्द आभाष शर्मा र टेकराज शाहीले सञ्चालन गरेका थिए।