सल्यानको दार्मा गाउँपालिकाको दुर्गम ठाउँमा नेपाली सेनाले चार कोठे पक्की प्रसुति केन्द्र निर्माण गरेको छ। दार्मा गाउँपालिका वडा नम्बर ५ को त्रिवेणीमा पच्चीस लाखको लागतमा नेपाली सेनाको सबुज गणले भवन निर्माण गरी आज एक कार्यक्रमका बीच दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको छ।
नेपाली सेनाका १९ नम्बर वाहिनी तुलसीपुर दाङका वाहिनी पति सुशीलकुमार भण्डारी र दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले संयुक्तरूपमा उदघाटन गरी औपचारिक रूपमा प्रसुति केन्द्रको सुरुवात गरेका हुन्।
उदघाटन कार्यक्रममा बोल्दै वाहिनी पति भण्डारीले प्रसुति व्यथाले कसैले पनि ज्यान गुमाउन नपरोस भनेर नै प्रसुति केन्द्र निर्माणका लागि नेपाली सेनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको बताए।
दार्माका अध्यक्ष निमबहादुर केसीले यस क्षेत्रका गर्भवती महिलालाई प्रसुतिका लागि जिल्ला सदरमुकाम र जिल्ला बाहिर लिनुपर्ने वाध्यता हटेको बताए । नेपाली सेनाले गरेको परोपकारी कामको प्रशंसा गर्दै केसीले यस्ता कार्यले सेनासँगको जनताको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे।