भदौ१३,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका नेतृत्व गर्ने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत कमाण्डरहरु एकै पटक आइसोलेसनमा पुगेका छन् । कमाण्डरहरु नै आइसोलेसनमा पुगेपछि कोरोना नियन्त्रणमा झनै समस्या देखिएको छ ।
नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिसिएमसीका प्रमुख अधिकारी तथा महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम आइसोलेसनमा बसेका हुन् ।
सिसिएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा उनीहरू छाउनीस्थित सिसिएमसीको कार्यालयमा बैठक बसेका थिए । मन्त्रीहरूसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरूको पनि पिसिआर परीक्षण गरिए पनि उनीहरूको नतिजा आउन बाँकी छ । नतिजा नआउँदासम्म उनीहरू होम आइसोलेसनमै बस्नेछन् ।
सरकारले यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । रक्षामन्त्रीको नेतृत्वमा रहेको सो संयन्त्रलाई खारेज गरेर सरकारले सिसिएमसीलाई सक्रिय बनाउँदै आएको छ । कोरोना रोकथाम उच्चस्तरीय संयन्त्र खारेज गरेर सरकारले सिसिएमसीमा मन्त्रीहरूलाई थप गरेको थियो ।