जन्म र मृत्यु शाश्वत छ । जन्मेपछि मृत्यु अवस्यमभावी छ तर सबैको जन्म र मृत्यु एकनाशको हुँदैन । सबैको मनमनमा विराजमान माधवप्रसाद घिमिरेजस्ता व्यक्तिको मृत्युले भावविह्वल बनाउँछ नै । राष्ट्रकवि माधवप्रसाद घिमिरेले एक सय एक वर्षको उमेरमा आज मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा यो संसारबाट बिदा लिए।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेखनमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा थिए। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । उनले वि.सं. १९९२ सालमा पहिलो पटक गोरखापत्रमा ‘ज्ञानपुष्प’ कविता छपाएर नेपाली कविता साहित्यमा उदाएका थिए।उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नरकिन्नरी जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उनले लेखेको गौरी शोककाव्य सर्वाधिक मन पराइएको कृति हो । साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन् । उक्त कृतिमा उनले आफ्नी पहिलो श्रीमतीको असामयिक निधनपछिको कारुणिक अवस्था चित्रण गरेकाछन।
घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो भने वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारिका लागि साझा पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी वि.सं.२०५८ सालमा चारु चर्चा निबन्धका लागि साझा पुरस्कार प्रदान गरिएको थियो । उनलाई वि.स.२०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । जन्मिएको तीन वर्षमा उनकी आमाको निधन भएको थियो । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरेका थिए। ११ वर्षको उमेरमा घर छाडेर लमजुङ जिल्लाको दुराडाँडाको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरेका थिए। त्यसपछिको अध्ययनका लागि उनी बनारस गए। घिमिरेले बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरे।
उनले राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ’मनको बाँध’ चलचित्रको ’फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ’आजै र राति के देखेँ सपना’जस्ता कालजयी गीत रचना गरे।
सानो कृतिमा पूर्णताको अपेक्षा गर्ने घिमिरेको काव्यगत प्रवृत्तिलाई केलाउँदा मुख्यत: पाँच चरणमा विभाजन गरेको पाइन्छ:
१) पहिलो चरण ( वि.स. १९९२ – २००३ )
यस चरणमा घिमिरे लेखनाथ पौडेलको काव्यकलाबाट प्रभावित हुँदै परिष्कारवादी धारामा संलग्न हुँदै त्यसभित्र स्वच्छन्दतावादी भावधाराको वरणतर्फ उन्मुख देखिन्छन्। उनले यस चरणमा ‘ नवमन्जरी’ कवितासंग्रह प्रकाशित गरेको पाइन्छ। यस चरणको ‘राष्ट्रिय झन्डा’ प्रथम लोकप्रिय कविताको रुपमा देखापरेको छ। ‘राष्ट्रिय झन्डा’ कवितामा भाषाशैली संरचनाको कसिलो परिष्कृति र प्रखर राष्ट्रिय चेतना चलमलाएको पाइन्छ।
२) दोस्रो चरण ( वि.सं. २००४-२०१६):
पत्नीको मृत्युबाट आहत बनेका घिमिरे यस चरणमा बङ्गाली कवि रवीन्द्रनाथबाट प्रभावित हुँदै स्वच्छन्दतावादी-परिष्कारतर्फ उन्मुख हुन्छ्न। यसैबेला घिमिरे नेपाली लोकगीतको रन्कोबाट प्रभावित हुँदै वर्णमात्रिक छन्दलाई तिखार्दै ‘गौरी’ खण्डकाव्यको रचना गर्दै स्वच्छन्दतावादी भावधारा र परिष्कारोन्मुख लयशैली र संरचनाको सन्तुलन गर्दै सरस, सरल, सम्प्रेष्य एवं हृदयस्पर्शी कवित्वको साथमा आफ्नै खाले कवितापथको सिर्जना गर्न पुग्छन। यसचरणमा उनका वर्णमात्रिक छन्दका ‘ कलमवीर’, ‘पर्वतवासिनी’, ‘वैशाख’, ‘काली गण्डकी’ आदि कविताहरू देखापर्दछन भने लोकलयमा ‘ गाँउछ गीत नेपाली’, ‘लाग्दछ मलाई रमाइलो’, ‘परन्तु यौटै मूर्तिमा विराट’ जस्ता गीतिकविताहरू प्रकाशित छ्न। यसै समयमा ‘गौरी’ जस्तो सर्वाधिक लोकप्रिय खण्डकाव्यको प्रकाशन भएको पाइन्छ।
३) तेस्रो चरण ( वि.सं. २०१७-२०२२) :
राजेश्वरीको प्रकाशनसँगै घिमिरेको कवितायात्राको तेस्रो चरण प्रारम्भ हुन्छ। घिमिरेको यो चरणमा प्रथम चरणको बहिरङ्गप्रवृत्ति र दोस्रो चरणको अन्तरङ्गप्रवृत्तिहरूको संयोजनबाट उत्पन्न कवित्वले प्रौढता र परिपाक पक्रन लागेको देखिन्छ। घिमिरेका यस चरणका ‘राजेश्वरी’ र ‘पापिनी आमा’ खण्डकाव्य छन्दचेतका शिखर हुन। फुटकर गीततर्फ ‘सुख र दु:ख संचित गर्छु’, ‘जून एक मुठी’, ‘वैशाखका दिन’ आदि महत्त्वपूर्ण रचना हुन।
४) चौथो चरण ( वि.सं. २०२३-२०३६ ) :
घिमिरेको यो चरण स्वच्छन्दतावादी- प्रकृतिचेत र राष्ट्रियताको चेत अझ फराकिलो र प्रखर हुँदै जीवनजगतप्रतिको आस्था र महिमाप्रति संवेदनशील हुँदै वैदिक उपनिषद्सम्बन्धी प्रभाव ग्रहण गर्दै अगाडि बढेको पाइन्छ। उनको यस चरणको महत्त्वपूर्ण खण्डकाव्यात्मक कृति ‘राष्ट्रनिर्माता’ हो भने ‘ दुलही हिमाल कन्चनजङ्घा’ उत्कृष्ट पद्यात्मक फुटकर कविता हो। त्यस्तै गीततर्फ परिष्कृत गरिएको ‘परन्तु यौटै मूर्तिमा विराट’ र ‘कहिले भेट होला है राजै’ निकै लोकप्रिय मानिन्छ्न। उनका यस चरणमा ‘ बालालहरी’, ‘किन्नर – किन्नरी’ बालसंग्रहहरु र ‘धर्तीमाता’, ‘राहुल यशोधरा’खण्डकाव्यहरु पनि प्रकाशित देखिन्छ्न।
५) पाँचौ चरण ( वि.सं. २०३७ देखि आजसम्म) :
घिमिरेको यो चरण गीतिनाट्यहरुको रचना र प्रकाशनको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। यस चरणका उनका गीतिनाट्यहरुमध्ये पद्यात्मक शकुन्तला र लोकलयात्मक मालतीमङगले , अश्वत्थामा महत्त्वपूर्ण प्राप्ति मानिन्छ्न।
पूर्वीय शास्त्रीय परम्पराका रोमान्सेली प्रकृतिका अत्यन्त सुन्दर र सुगठित नमुनाका काव्यकृतिका कालजयी सर्जकप्रति शव्द श्रद्धासुमन अर्पण ।