युवराज रेग्मी, भदौ १७, सल्यान/ आफ्ना स्वर्गीय पति एवं पिताको स्मृतिमा त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएको छ। त्रिवेणी ६ लुहामका स्थायी निवासी स्वर्गीय ध्रुवप्रसाद श्रेष्ठको सम्झनामा तीन लाख रुपैयाँको गाउँपालिका स्तरिय अक्षयकोष स्थापना गरिएको हो। श्रीमती रेमु श्रेष्ठ, छोरा बुहारीहरु डाइमण्ड श्रेष्ठ, झुला श्रेष्ठ, प्रभात कुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रियवत्र श्रेष्ठ, मनिसा श्रेष्ठ, छोरी ज्वाई उपासना पुन, कृति बहादुर पुनले कोष स्थापना गरेका हुन् ।
छात्रवृति अक्षयकोष सञ्चालन कार्यविधि तयार पारेर आज स्वर्गीय ध्रुवप्रसाद श्रेष्ठको वार्षिक पुण्यतीथि कै दिन राष्ट्रिय वाणिज्य बैंक, लुहाममा तीन लाख रुपैयाँ जम्मा गरिएको छ। उक्त रकमको ब्याज वापत आउने रकमबाट हरेक वर्ष त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कक्षा ५ मा सर्वोत्कृष्ट अंक ल्याउने एक जना छात्रा, एक जना छात्र र विपन्न एक जना गरी तीन जनालाई छात्रवृति प्रदान गरिने छ ।
छात्रवृति अक्षयकोष सञ्चालनका लागि रेमु श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ। जेहेन्दार गरिव र विपन्न वर्गका वालवालिकालाई अध्ययन गर्न सहज हवोस भन्ने सोचले कोष स्थापना गरिएको र आफुहरुको सानो सहयोगले ती वालवालिकाहरुको भविष्य उज्वल हुने अपेक्षा सहित अक्षयकोषको स्थापना गरिएको छोरा प्रभात श्रेष्ठले बताए।