नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको निष्कर्षमा रामचन्द्र पौडेल पक्ष पुगेको छ । पौडेल पक्षले सभापति देउवाको ध्यानाकर्षण गराउने तयारी थालेको छ । पौडेल पक्षको बुधवार अनामनगरमा भएको भेलाले सभापति देउवा समुहले पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्ने लागेको भन्दै रोक्नुपर्ने सहभागी नेताहरुले बताएका थिए । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु लगायतका नेताहरु सहभागी थिए । भेलामा सभापति देउवा समुहले आफुसँग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम थालेको निष्कर्ष निकालेको छ । विषेश गरि प्रवासमा रहेका कतिपय आफुसंग असहमत नेता कार्यकर्ताहरुलाई कारवाही गरेर सभापति देउवा पक्षले तर्साउन खोजेको निष्कर्ष निकालेको छ । पछिल्लो पटक बेल्जियम जनसम्पर्क समितिकी सभापति सीता सापकोटालाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । सापकोटालाई नागरिकता विधेयकमा उपभापति बिमलेन्द्र निधीको विचारसँग असहमति जनाएको आरोपमा कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सभापति देउवा पक्षले प्रवासमा मात्र नभएर मुलुकभित्र पनि असहमत पक्षलाई तर्साउन लागेको निष्कर्षमा पौडेल पक्ष पुगेको छ । त्यसैगरि विभाग गठनका नाममा सभापति देउवा पक्षले विभिन्न नियुक्तीमा लागेकोमा समेत आपत्तति जनाएको छ ।