शारदा नगरपालिकाले निर्माण गरेको अस्पताल भवन अस्पताल समितिलाई हस्तान्तरण

कर्णाली समाचार स्वास्थ्य
5 Shares

शारदा नगरपालिका सल्यानले आफ्नो अनुदानमा निर्मित सल्यान अस्पताल भवन आज अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। करिव सवा २ करोड रुपैयाको लगानीमा निर्मित ३ तले भवन नगरका नगर प्रमुख सुरेश अधिकारीले अस्पताललाई हस्तान्तरण गरेका हुन।
सल्यान अस्पताल भवन जिर्ण अवस्थामा रहेको र सेवा प्रवाहमा समस्या देखिएपछि नगरले अस्पताल भवन निर्माण गर्न आफ्नो प्रथम साधारण सभाबाट बजेट विनियोजन गरेको थियो।
हस्तान्तरण समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख अधिकारिले सल्यान अस्पताल समग्र जिल्लाका नागरिकहरुको स्वास्थ्यको भरोसाको केन्द्र भएकाले शारदा नगरपालिकाले भवन निर्माणको जिम्मेवारी लिएको बताए। नगर प्रमुख अधिकारीले सिमित श्रोत र आफ्नो नगरका १५ वटा वडामा पुग्ने बजेटमा सम्झौता गरेर भए पनि जिल्लावासीको स्वास्थ्य दायित्व पुरा गर्न नगरका सवै जनप्रतिनिधिहरुको सहयोगमा भवनको निर्माण गरिएको बतााए।
प्रमुख अधिकारीले भवन निर्माणका अलावा नगरले अस्पतालका लागि अन्य भौतिक र प्राबिधिक सहयोग गरेको पनि स्मरण गरे। नगरले अस्पतालका लागि एक्सरे मेसिन,जेनेटर,भवन र अन्य लजिस्टिक सहयोग गरि ५ करोड बढिको सहयोग गरेको छ। नगर प्रमुख अधिकारीले अस्पतालको सेवालाई प्रभावकारी बनाउन भुमिका खेलेकोमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ आभार व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष सिपि ओलिले स्वास्थ्य जस्तो महत्वपुर्ण क्षेत्रमा लगानी गरि जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएकोमा नगर प्रमुख लगाएत नगरका सवै जनप्रतिनिधिहरुलाई उनले धन्यवाद ब्यक्त गरे। सल्यान अस्पतालमा उपचार गर्न शारदा नगरवासी मात्र नभएर सल्यान जिल्लाबासी सहित छिमेकी जिल्लावासी समेत आउने गरेको उल्लेख गर्दै ओलिले अस्पताललाई यो स्तरमा पुर्याउन नगरले महत्वपुर्ण भुमिका खेलेको स्पस्ट पारे ।  कार्यक्रममा बोल्दै शानपा २ का अध्यक्ष केशव श्रेष्ठले अस्पताल सम्पन्न गरि हस्तान्तरण गर्दा समस्त नगर कार्यसमिति सहित व्यक्तिगत रुपमा आफू पनि हर्षित भएको भन्दै अस्पतालको बिकासमा प्रतिवद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा अस्पतालका डाक्टर प्रदिप शर्मा,इन्जियर भरत बुढाथोकी,निर्माण ब्यवसायी अरबिन्द्र राई,पत्रकार महासङ्ग सल्यानका अध्यक्ष प्रतीक शर्मा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap