अमृत काजी शर्मा
३० जेठ/ मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसका अवसरमा यही जेठ २३ देखि सुरु गरेको सप्ताहव्यापी कर्णाली केन्द्रित कार्यक्रमा अन्तर्गत ‘हिमालय बचाउःनदी जोगाउँ’ अभियानमा रु १० लाख आठ हजारको छात्रवृत्ति वितरण गरिएको छ ।
शान्ति समाजले दुर्गमका विपन्न बालिका छात्रवृत्ति कार्यक्रम सम्पन्न गरिएको छ । जेठ २३ गते कर्णाली प्रदेशको सुर्खेतबाट दिप प्रज्वलनसहित प्रारम्भ भएको अभियान अन्तर्गत कालीकोटको मान्म, मुगुको गमगढी र जुम्लाको खलङ्गा बजारमा शान्ति समाजले तयार गरेको अवधारणापत्र वितरणसहित प्रदर्शन र कोणसभा सम्पन्न भएको थियो ।
कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कार्यबहाक सभापति कृष्णबहादुर रावल, समाजका सल्लाहकार एवं पूर्वसभापती गोविन्द खनाल, कर्णाली प्रदेश सचिव प्रकाश शाही, केन्द्रीय सदस्य अरुण ज्ञवाली र आजीवन सदस्य एसआर पाण्डे समेत सहभागी भएका थिए ।
‘छोरी पढाऔः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित सुरु भएको कर्णाली प्रदेश केन्द्रित तीन वर्षे बालिका छात्रवृत्ति अभियानअन्तर्गत कर्णाली प्रदेशका छ जिल्लाका ८४ जना दलित समुदायका बालिकालाई पहिलो वर्षको छात्रवृत्ति रकम रु १० लाख आठ हजार वितरण गरिएको शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिनुभयो ।
जेठ २४ देखि जेठ २९ सम्म कालीकोटको शुभपालिकास्थित पञ्चकालिका मा.वि.का १३ जना, खाडचक्र मान्मस्थित जनजीवन मा.वि.का १६ जना, जुम्लाको मष्टामडुस्थित अन्नपूर्ण मा.वि.का १० जना, लुड्कुस्थित कनकासुन्दरी मा.वि.का १२ जना, मुगुको महाकाली नमुना मा.वि.का ८ जना, नेपाल राष्ट्रिय मा.वि भारेकोटका ३ जना, दैलेखको महादेव मा.वि. तल्लो डुङ्गेश्वरका १० जना र सुर्खेतमा आश्रय लिइरहेका वादी समुदायका ६ जना कक्षा ६ मा अध्यनरत दलित समुदायका ७८ जना बालिकालाई रु. १२ हजारका दरले पहिलो वर्षको छात्रवृत्ति रकम शान्ति समाजको टोलीले प्रदान गरेको छ ।
यसैगरी हुम्लाको सर्केगार्डस्थित अंशुवर्मा आधारभूत विद्यालयका ३ जना र हुम्लाकै श्री हिमज्योति मावि सर्केगार्डका ३ जना गरी ६ जना दलित समुदायका बालिकालाई छात्रवृत्ति वितरण गर्न बैंकबाट रकम पठाइएको छ । यसै गरी शान्ति समाजले कर्णाली केन्द्रित तीनवर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत ८४ जनालाई रु १० लाख आठ हजारको छात्रवृत्ति वितरण गरेको छ ।
अभियानको संयोजन शान्ति समाज कर्णाली प्रदेश सचिव प्रकाश शाहीले गर्नुभएको थियो । कर्णाली केन्द्रित तीनवर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सचिव रामप्रसाद जोशी, मोरङ शाखा सभापति प्रा.डा जीवन ढकाल, सदस्य तथा शुभचिन्तक दानबहादुर रोकाय, रणबहादुर खड्का, यामबहादुर श्रेष्ठ, कृष्णा न्यौपाने भुसाल, घनश्याम खड्का, युद्ध कोइराला, डा.ललितजङ्ग शाही, एसआर पाण्डे, केशरीकुमारी बस्नेत, ईश्वर सापकोटा लगायत गरी ७८ जनाले छात्रवृत्ति रकम सहयोग गर्नुभएको छ । यससँगै शान्ति समाजले सुरु गरेको पाँच वर्षे र तीन वर्षे छात्रवृत्ति संख्या १ सय २१ पुगेको मानव अधिकार तथा शान्ति समाजकी महासचिव रेणुका पौडेलले जनाउनु भएको छ ।