अमृत काजी शर्मा
१४ वैशाख, दाङ। लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री पदमा गठबन्धनले लुम्बिनी प्रदेश सरकारका सांसद नेपाली कांग्रेस संसदिय दलका नेता डिल्लीबहादुर चौधरीलाई अगाडी सारेको छ । ८ राजनीतिक दलहरुका तर्फबाट चौधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गरिने तयारी रहेको छ । बिहीबार आज दिउँसो ४ बजेसम्म बहुमतको सरकारको लागि दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । सोही बमोजिम कांग्रेस, नेकपा माओवादी केन्द्रसहित ८ राजनीतिक दलसहित ५३ जना सांसदको हस्ताक्षर बुझाउने तयारी रहेको बताईएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एकजना र स्वतन्त्र एक सांसद रहेका छन् । मुख्य मन्त्रीको दावी पेश गर्न लागे पनि दलहरुका बिच मन्त्रालयको भागबन्डा भने टुंगिएको छैन ।
कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालयको दाबी गरेको छ। माओवादीले पनि तीनदेखि चार वटा मन्त्रालयको भाग चाहिने अडान लिएको छ । अन्य साना दलहरूलाई पनि मन्त्रालय चाहिएपछि सहमति जुट्न सकेको छैन । गत चैत १२ देखि सुरु भएको नयाँ सरकार गठनको गृहकार्य र भागबण्डाले अहिलेसम्म पनि आकार लिन सकेको छैन ।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको सरकार गठन हुन थालेको हो ।
उता ८ दलले कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउनको लागि ५३ जना सांसदहरूले चैत १२ गते हस्ताक्षर गरेका छन् । कांग्रेसका प्रदेश सभा सदस्य राजु खनालले आज चौधरी मुख्यमन्त्री नियुक्त हुने र भोलि केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन । उनका अनुसार मन्त्रालयको भागबन्डा टुंगिन बाँकी भएकाले सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरिएको हो ।
माओवादी केन्द्रले मुख्यमन्त्री आलोपालो हुनुपर्ने माग गरे पनि कांग्रेसले सहमति जनाएको छैन ।