रक्षाबन्धन एवं जनैपूर्णिमाको महत्त्व

मुख्य समाचार विचार समाचार
0 Shares

आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन। हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरिन्छ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन्। हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस् दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ | ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ।
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ। यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ।तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ।

आजको दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ।

तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ।

यस दिन दिदीबहिनीहरूले आफ्नो दाजुभाईको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन्। दाजुभाईले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन्। पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो। यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए। पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे। यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ। त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो। अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरेका थिए।नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन्।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap