कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ । प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल गरेको हो ।
ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका १० जना संसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन । ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित भएको हो।
सरकारका दुई मन्त्री र उपसभामुख अनुपस्थित रहेका छन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्ती मगर अनुपस्थित रहेका हुन् ।
श्रोतका अनुसार दशैंलगत्तै मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ । ज्वाला पक्षका तीन जना मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री शाहीले दशैंको रमझम भएका कारण मन्त्री नियुक्त गर्न ढिलाई हुने बताउँदै ज्वाला पक्षसँग दसैं लगत्तै मन्त्री परिषद पुर्नगठन गर्ने लिखित सम्झौताका कारण मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको श्रोतले जनाएको छ।
यता प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर यामलाल कंँडेलले नेपाली कांग्रेससँग मिलेर सरकार विरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्तागर्ने तयारी गरेका छन् ।
नेकपा अध्यक्षसमेत रहेका ओलीले निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहलाई पुरानै पदमा कायम गर्न निर्देशन दिए पनि मुख्यमन्त्री शाहीले त्यसको कार्यान्वयन नगरेपछि प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ताको तयारी सुरु भएको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ जना र राप्रपाका १ जना सदस्य छन् । ३३ जना भने सत्तारुढ नेकपाका सदस्य छन्।
ओली पक्षका एक नेताले आफूहरु नयाँ सरकार गठनको चरणमा पुग्न सक्ने बताए । उनले भने, ‘उहाँले प्रधानमन्त्रीले भनेको कुरा पनि मान्नु भएन । हामी मुख्यमन्त्री फेर्नेगरी जान सक्छौँ । हामीसँग प्रदेश सभामा प्रष्ट बहुमत बनाउने अवस्था छ । सरकार गठनका लागि हामीसँग २० जना सांसद हुने सम्भावना हुन्छ । त्यसैको तयारीका लागि हामी अब सक्रिय हुन्छौँ ।’
ओली पक्षले आफ्नो पक्षमा भएका १२ जना सांसद, कांग्रेसका ६ जना, राप्रपाका १ जना र पूर्वमाओवादीका ३ जनाले साथ दिने अवस्थामा प्रदेश सभामा सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसका लागि कांग्रेस र राप्रपासँग छलफल भइरहेको ती नेताको दाबी छ ।
१८ जना सांसदले शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई बर्खास्त गरेर सीता नेपालीलाई प्रमुख सचेतक बनाएका छन् । शाहीविरुद्ध लागेका नेपाल पक्षधर सांसद पनि अहिले शाहीको पक्षमा छन् ।