नेपाल सरकार सूचना तथा प्रशारण विभागले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा दुई दिने घुम्ती शिविर सञ्चालन गरेको छ । नेपाल पत्रकार महासंघ मनाङ शाखाको सहकार्यमा विभागले शिविर आयोजना गरेको हो । मनाङमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि तालिम दिने उद्देश्यले विभागको टोली मनाङ आइपुगेको छ । शिविरमा पत्रकार नयाँ परिचयपत्र र अनलाइन मिडियाको दर्ता र नविकरण सेवा दिइने छ।
सो अवसरमा हिमाली जिल्लाका पत्रकारहरुका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम पनि आयोजना गरिएको विभागले उल्लेख गरेको छ । दुबै कार्यक्रमका लागि सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल, प्रशिक्षक पत्रकार तुलाराज अधिकारी र विभागका शाखा अधिकृत बसन्त वहादुर खत्री लगायतका प्राविधिक टोली आइतबार आएका थिए ।
सोमबार भएको उद्घाटन कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघ मनाङ शाखाका अध्यक्ष नविन लामिछानेको सभाध्यक्ष्ता रहेको थियो । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले कार्यक्रमको उद्घाटन गर्नु भएको छ । विभागका टोलीले राज्यले पत्रकारहरुको सेवा सुविधाका लागि विभिन्न कार्यक्रम ल्याउन लागेको उल्लेख गरेका छन् । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा मनाङमा ३५ जना पत्रकारको सहभागीता रहेको छ । तालिममा पत्रकार तुलाराज अधिकारीले सहजीकरण गरेका छन् । पत्रकारहरुका लागि घुम्ती शिविर सोमबार र मंगलबार हुनेछ भने, पत्रकारहरुको क्षमता विकास तालिम बुधबारसम्म हुने पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछानेले बताउनु भएको छ ।