प्रधानमन्त्री केपी ओली र रअका प्रमुख बीच भेटवार्ता , नेकपा नेता भीम रावलद्वारा आपत्ति

मुख्य समाचार समाचार
3 Shares

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा बुधबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको बालुवाटारले पुष्टि गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच भेट भएको जानकारी दिए ।

भेटमा प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा कुराकानी भएको थापाले जानकारी दिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले गोयलसँग भेट नगरेको प्रष्टिकरण दिएका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा र नेता नेपाल आफैँले सामाजिक सञ्जालमार्फत् रअ प्रमुख सामन्तसँग भेट नभएको प्रष्टिकरण दिएका हुन् ।

त्यस्तै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकोप्रति नेकपा नेता भीम रावलले आपत्ति जनाएका छन्। नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले गोयलसँग भेट्नु कूटनीतिक मर्यादा विपरीत रहेको भन्दै विरोध जनाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति नै जारी गरेर बुधबार बेलुका गोयलसँग बालुवाटारमा भेट भएको जानकारी दिएपछि रावलले ट्वीटमार्फत आपत्ति जनाए । रावलले प्रधानमन्त्री ओलीले गोयललाई भेट्नु नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधिनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भएको उल्लेख गरेका छन् ।

भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो त्यो आपत्तिजनक भएको नेता रावलले ट्वीटरमा लेखेका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap