नेपाली कांग्रेसले नेकपाको सचिवालय संवैधानिक परिषद् नभएको हेक्का राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद् तथा संवैधानिक नियुक्तिका विषयमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर काम नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्। कांग्रेसले नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको पनि आरोप लगाएको छ। ‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ। कांग्रसले संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरिएको र अध्यादेशमार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि भएको आरोप लगाएको छ। ‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो। त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।