सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँच नम्बर प्रदेश संसदीय दलले दाङको भालुवाङ राजधानी तोक्न ह्विप लगाएको छ । आज बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश र दाङको भालुवाङ मुकाम तोक्ने प्रस्तावको पक्षमा मत हाल्ने निर्णय गरेको हो ।
दाङ राजधानी तोक्ने सन्दर्भमा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासीका करिब १४ जना सांसद्ले नोट अफ् डिसेन्ट, अर्थात् निर्णयमा विमति राखेको प्रदेशसभा सदस्य बैजनाथ चौधरीले जानकारी दिए ।
“संसदीय दलमा पार्टीले ह्विप लगाएपछि निर्णय मान्दिनँ भन्ने कुरा आएन,” चौधरीले भने, “तर साविक लुम्बिनी अञ्चलका १४ जना माननीयको असहमति छ । उहाँहरू बुटवल राजधानी बनाउनुपर्छ भनेर लागिपर्नुभएको थियो । आफैं दाङ बनाउने प्रस्तावको पक्षमा सहमति जाहेर कसरी गर्नुहुन्छ त?”
प्रस्तावित लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका चौधरीले प्रदेशको पार्टी कमिटीले लगेको प्रस्तावमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएको बताउँछन् ।
“लामो समयदेखि प्रदेशको स्थायी मुकाम र नाम तोक्न सकिएको थिएन । प्रदेशको राजधानीका सन्दर्भमा सत्तारूढ पार्टी नै विभाजित थियो,” उनी भन्छन्, “प्रदेशको पार्टी पनि विभाजित हुने अवस्था देखेर इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्रीले अध्यक्षद्वयलाई पत्र लेख्नुभएको थियो, दाङ तोक्नु प-यो भनेर सुझाव पनि माग्नुभएको थियो । त्यसमा अध्यक्षद्वयले सहमति जनाउनुभयो ।”
अध्यक्षद्वयले पठाएको पत्रमा सकारात्मक जवाफ पाएपछि मुख्यमन्त्री कार्यालयले हतार नगरी प्रस्ताव संसदमा टेबल गरेको मन्त्री चौधरी बताउँछन् ।
“संसदीय प्रणालीमा दलको ह्विप लाग्छ । असहमति भए पनि पार्टीको प्रस्तावमा भोट हाल्नुपर्छ,” उनी भन्छन्, “अब दाङ प्रदेशको राजधानी बन्ने पक्का भयो ।”
८७ सदस्यीय प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाइ छ । दुई तिहाइका लागि ५८ सांसद आवश्यक पर्छ । नेकपाका ६१ सांसद् छन् । सभामुखले मत नहाल्दा पनि ६० भोट प्रस्तावका पक्षमा खस्ने चौधरी बताउँछन् ।
कांग्रेसका अधिकांश सांसदहरूको समर्थन छ। प्रदेशसभामा नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।