नेकपाका दुबै अध्यक्षको उपस्थितिमा बालुवाटारमा सचिवालय बैठक शुरु

मुख्य समाचार

सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सचिवालयका नौ जनै सदस्य सहभागी भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेका थिए । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए। अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालकहाँ पुगेका थिए ।

दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किएका थिए । त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गरेका थिए ।

यस्तै, मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेकी छिन् । रातदूत यान्छीसँगको भेटलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । प्रधानमन्त्री ओली शीतल निवास पुग्नुअघि नेकपाका कार्यकारी अध्यक्ष दाहालले पनि राष्ट्रपतिलाई भेटेका थिए । प्रधानमन्त्री बुधबार दिउँसो पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap