दामका अनेक नाम

कला / साहित्य शिक्षा

तेजप्रसाद न्यौपाने, श्री त्रिभुवन जन माध्यमिक बिद्यालय

शारदा नगरपालिका- १५, माल्नेटा, सल्यान

हे दाम ! हे दाम !! तेरो कति ठूलो काम ,
तं भए मान र नाम , तं नभए बदनाम ।
भान्जा-भान्जी र कन्यालाई दिइने दक्षिणा ,
त्यही कमाउन कसैलाई आउँदछ पसिना ।
पण्डित ,गुरु पुरोहितलाई दिने हो दान ,
थोरै धेरै जति भए पनि तिमी मान ।
ज्ञान सिक, सीप सिक , बन ईमानदार , तिरेर शुल्क ,
कसैले पनि तिमीलाई नभनोस है थुक्क ।
देवी देवता भाकल गरी चढाउने हो भेटी ,
त्यही भेटी कमाउनलाई गर्छन् मरी मेटी ।
दिनभरी दु:ख गरि कमाएको ज्याला ,
साँझ खान पुग्ने होइन आधा पेट खाला ।
भ्रष्टहरु भ्रष्टाचार गरी खान्छन् घूस ,
सिधा सादा जनतालाई कति सक्छौ ? त्यति रगत चूस ।
अपराधी र अपहरणकारीलाई चाहिन्छ नोट ,
गरीब दु:खी जनतासंग छैन पैसा फल्ने बोट ।
कालोबजारी र तस्करीलाई चाहिने रोकडा ,खोखा र पेटी ,
यिनैलाई सुरक्षा दिन लाग्छन् मरी मेटी ।
कसैको घरमा बस वा यात्रा गर तिरी किराया वा भाडा ,
सभ्य बन ! शिक्षित बन ! नबन है छाडा ।
विवाह गर्नुभन्दा पहिले चाहिदो रैछ साइमासो ,
विवाह पछि सबैलाई त्यही हुदोरहेछ पाशो ।
अर्काको बुढी ल्यायो तिरी तिरी जारी ,
अझ उसलाई चाहिने रे महँगा महँगा सारी ।
पार्टी ,नेता र कार्यकर्ता माग्दै हिड्ने चन्दा ,
अरू सबै गोलीमार कमाई खाने यही छ राम्रो धन्दा ।
अड्को पड्को टार्नलाई लिनुपर्ने ऋण ,
सावाँ व्याज बुझाउन नसके घरवार छोडी हिन ।
बृद्ध बृध्दा आशा राख्छन् खाली सधैं भत्ताको ,
कति रोचक खेल हुन्छ खाली यहाँ सत्ताको ।
गरिखाने खेतबारी किन्नलाई लाउनु पर्ने बैना ,
पास गर्न सके भयो नसके त्यै बैना नि छैन ।
खसी किन्यो बोका किन्यो , मूल्य हाली हाली ,
बगाल छुटाउने छुट्टै पैसा माग्न थाली काली ।
कौडा जुवा खेल्नु पर्ने थापी थापी वोट वा चाखे ,
कतै घरवारी जान सक्छ त्यो पनि ख्याल राखे ।
दु:ख गर्‍यो जागिर खायो आश लाग्छ तलब वा तनखा ,
गर्ने एउटा खाने एउटा अझै भन्छन् तँ नखा ।
सेमिनार , गोष्टि र तालिम गरे पाइदो रैछ भत्ता ,
घरमा पुग्नु कहाँ छ , कहाँ छ , बाटैमा भयो बेपत्ता ।
साठी पुग्यो , बूढो भयो , पाउन थाल्छ पेन्सन ,
अरु गर्न सकिदैन , त्यसले पुग्नेहोइन , हुन थाल्छ टेन्सन ।
कुलत र गलतबाट बच्नुपर्छ तिर्नुहुन्न जरिवाना ,
घरमा जे छ रूखो सुखो त्यसलाई अमृत ठान ।
देशोन्नती तब हुन्छ , हामीले तिरेपछि कर ,
आफ्नो पौरख आफैं गर , अरूको भर नपर ।
परोपकारी हीतकारी त्यो हो ,जसले गर्छ द्रव्य दान ,
दामै दाम नै सबै थोक हो भन्ने कुरा नठान ।
दान गर्दा , मद्दत गर्दा नसोच , मैले दिए भीख ,
दानवीर , महावीर हुन तिमी सिक ।
काम गर पौरख गर , गर सधैं बचत ,
सुन्दर जीवन सुखी जीवन आफ्नो आफैं रच त !
जीवन सफल तब हुन्छ जब पाउछौ पुरस्कार ,
सबैजना मिलिजुली अन्त्य गर्नुपर्छ देशमा हुने भ्रष्टाचार ।
अन्त्य गर्नुपर्छ देशमा हुने भ्रष्टाचार …………….।

टका ही धर्मम् टका ही कर्मम् टकैव परम् सुखम् ।
यस्य गृहे टका नाास्ति हा टका ! टक् टकायते ।।। अस्तु ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap