श्री त्रिभुवन जन मा. वि., माल्नेटाले टोलटोलमै विद्यार्थीहरुका बीचमा सिकाइ कार्य सुरु गरेको छ। कोभिड १९ का कारण विद्यालय सन्चालन हुन नसकेकाले कोरोना संक्रमण नहुने गरी सावधानीपूर्वक एक टोलका विद्यार्थी अर्को टोलमा नगएर आफ्नै टोलमा अध्यापन कार्य गरिरहेको छ।
ईन्टरनेटको असुबिधाको कारण अनलाइन कक्षा सन्चालन गर्न असमर्थ भएकाले स्थानीय शिक्षकहरु र पूर्व विद्यार्थीले पनि टोलको पाइक पर्ने ठाउँमा सामाजिक दूरी कायम गरी विद्यार्थीहरुलाई शिक्षण गरिरहेको त्रिभुवन जन माविका शिक्षक दिपक ओलीले जानकारी दिए।
शारदा नगरपालिका १५ हरलेका शिक्षक दिपक ओलीका अनुसार हाम्रो विद्यालय त्रिजमावि र छिमेकी गाउँपालिका सिद्दकुमाखको मावि बाँझकाँडामा अध्ययन गर्ने यही टोलका विद्यार्थीहरुलाइ सामाजिक दूरी कायम गरी बिहान ६ बजेदेखि ९:३० सम्म पालो गरी अध्यापन गरिरहेको बताए ।
वडा नम्बर १५ कै डाँडागाउँमा पूर्व विद्यार्थी निर्माण बाबु सेजवालले सिकाइ कार्यक्रम संचालन गरिरहेका छनभने घर्तिगाउँमा पनि सिकाइ कार्यक्रम संचालन भै रहेको छ।
वडा नम्बर १४ को ठारढुंगामा शिक्षक प्रकाश भण्डारीले शिक्षण सिकाइ गरिरहेका छन।
विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन विद्यालयका प्रधानाध्यापक वायुकुमार ब्राह्मण, सहायक प्रधानाध्यापक तेजप्रसाद न्यौपाने र विषयगत शिक्षकहरु टोलटोलमा पुगेर विद्यार्थीका जिज्ञासा समाधान गर्ने गरेको र विद्यालय नखुल्दासम्म यस्तै वैकल्पिक उपायबाट नै सिकाइ गर्न आग्रह गरेको सहायक प्रधानाध्यापक तेजप्रसाद न्यौपानेले बताए।