भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेक्का लिएर समयावधि भित्र काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताएका छ्न। नेपाल पत्रकार महासंघ, सल्यानले बिहीबार सल्यानमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री ज्वालाले ठेक्का लिएर सम्झौता गरिसकेपछि पनि समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरिने बताएका हुन।
मन्त्री ज्वालाले भने – ‘निर्माण व्यवासायीहरुले ठेक्का लिने तर काम तत्काल सुरु नगरी होल्ड गरि राख्ने भैराखेको देखिन्छ। जसले गर्दा समयमा काम सम्पन्न नहुदा आम नागरिकले सास्ती बेहोर्नुपरेको छ। अब ठेक्का लिएर सम्झौता भइ सकेपछि कुनै पनि बहानामा होल्ड गर्ने छुट दिदैनौ। सुरुमा हामी काम गराउनेमा जान्छौ तर उपाय नै भएन भने त्यो ठेक्का हामी तोडछौ र तत्काल नयाँ ठेक्का प्रक्रियामा जान्छौ।’ विकास निर्माणका योजनामा बेइमानी गर्ने छुट कुनै निकायलाई नभएको भन्दै मन्त्री ज्वालाले जनतालाई केन्द्र बिन्दुमा राखेर काम गर्ने बताए। लामो समयदेखि अलपत्र परेका गौरवका महत्त्वपूर्ण योजनालाई महत्व दिएर काम गर्ने बताए।
राप्ती लोकमार्ग र मदन भण्डारी राजमार्ग आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्री ज्वालाले भने – सल्यानी जनताको प्रमुख समस्या राप्ती लोकमार्ग भएकाले आफ्नो कार्यकालमै राप्ती लोकमार्गको पूर्ण रूपमा स्तर उन्नति गरिने छ।
मन्त्री ज्वालाले यातायात क्षेत्रमा बिचौलियाको चलखेलले गर्दा जनताले सास्ती व्यहोर्नुपर्ने बाध्यता भएको र भाडादर जथाभावी लिएको गुनासो आएकोले यसलाई सुधार गर्ने बताए। बीस वर्ष पुराना गाडी चलिरहेकाले यसले दुर्घटना जोखिम बढेकाले यसलाई पनि ध्यान दिने बताए।