घोराही उपमहानगरपालिका वडा नं. ३ कुईरेपानी जंगलमा टिप्परमा आगजनी भएको घटना शंकास्पद रहेको दाङ प्रहरीले जनाएको छ ।घोराही– लमही सडक खण्ड अन्तरगत कुइरेपानी जंगल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा मंगलबार बिहान साढे ४ बजेतिर आगजनी भएको थियो ।
घटना शंकास्पद रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । टिप्परका चालक २८ बर्षीय अरुण चौधरी र सचालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उक्त टिप्पर दुई दिन अगाडिदेखि बिग्रिएर मर्मतका लागि ग्यारेजमा लगिएको थियो ।
चालकले गाडी धनीलाई समेत कुनै जानकारी नदिएर राप्ती गाउँपालिका स्थित आफ्नो घर तर्फ जान खोजेको भनेर बयान गर्नु, आगलागी पछि चालक र सहचालकले समयमै प्रहरीलाई खबर नगर्नु जस्ता कारणहरुले घटना शंकास्पद देखिएको एसपी काफ्लेले बताए।
‘अरु चार पाँचवटा गाडी गएपछि मात्रै प्रहरीले आगजनीबारे खबर पाएको छ,’ एएसी काफ्लेले भने ‘ बन्दको नाममा बदमासी अरु कसैले गरेको हो कि भन्ने आशंका भइरहेको छ ।’
चालक र सहचालकले भने चार पाँच जना युवाको समुह आएर गाडीको अगाडिको भागमा आगो झोसेर भागेको बताएका छन।
आगजनीबाट टिप्परको अगाडिको भाग पुरै जलेर नष्ट भएको छ । बिप्लवका जिल्ला सक्रेटरी प्रदीप वलीले आँफुहरुको बन्द शान्तिपूर्ण रहने र तोडफोड र आगजनीको कुनै कार्यक्रम नरहेको स्पष्ट पादै टिप्परमा आँफुहरुले आगजनी नगरेको जानकारी दिए ।