सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्यानीटरी प्याड उपलब्ध गराउने अत्याधुनिक स्वचालित मेसिन जडान गरेको छ। गाउँपालिकाले ७ वटा बिद्यालयहरुमा अटोमेटिक स्यानिटरी प्याड भेन्टिङ मेसिन आज जडान गरेको हो।
सामुदायिक बिद्यालयमा अध्ययनरत छात्राहरु महिनावारी भएको अरुलाई भन्न पनि लजाउने र महिनावारी अवधिभर बिद्यालय अनुपस्थित रहने समस्या भएकाले बिद्यार्थीहरुको पठनपाठन सहज बनाउने हेतुले अटोमेटिक मेसिन जडान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए।
मेसिन भित्र एकचोटिमा ५० वटा स्यानीटरी प्याड अटाउने र स्मार्टकार्डका माध्यमबाट १० सेकेन्डमा प्याड प्राप्त हुने सुबिधा रहेको छ।
जनता मा बि, बुँरासे, लक्ष्मी मा बि, जयचौर, महेन्द्र मा बि, लेखपोखरा, जानकी मा बि, दोहली र शारदा मा बि, शंखमूलमा आज जडान गरिएको हो भने भानुभक्त मा बि, दमाचौर र त्रिभुवन जनता मा बि, भोटेचौरमा यस अघि नै जडान गरिसकिएको गाउँपालिकाले जनाएको छ।