नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी बैठक नबस्ने भएको छ ।केन्द्रीय कार्यसमितिका केही सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएका कारण आइतबारका लागि बोलाइएको पदाधिकारी बैठक नबस्ने भएको हो ।
सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले आइतबार बिहान ९ बजेका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित गरिएको बताएका छ्न।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।
१४ औं महाधिवेशनको कार्यातालिकाका बारेमा छलफल गर्न बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठक अघि कांग्रेसले गराएको परीक्षणमा तीन जना केन्द्रीय सदस्य र तीन जना अन्यमा कोरोना पोजेटिभ देखिएको छ ।
केन्द्रीय कार्यासमिति बैठकलाई मध्यनजर गरेर कांग्रेसले बिहीबार नेता, नेताका स्वकीय सचिव, सुरक्षाकर्मी र केन्द्रीय कार्यालयका कर्मचारीहरु गरी दुई सय ४० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।
ती मध्ये तीन जना केन्द्रीय सदस्य र तीन जना अन्यको नतिजा पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।