संसद विघटनविरुद्ध आन्दोलन जारी राख्ने वा सर्वोच्च अदालतको फैसला पर्खिने भन्ने लामो रस्साकस्सीपछि नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले पुस २५ गतेदेखि माघ ८ गतेसम्मका लागि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने छ ।
त्यस्तै, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तहमा प्रदर्शन गरिने छ भने माघ ८ गते सबै वडाहरुमा प्रदर्शन हुने छ ।
संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड माधव समूहले देशव्यापी आन्दोलन घोषणा गरेको एक दिनपछि कांग्रेसले पनि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कांग्रेसले आन्दोलन भने एक्लै गर्ने छ । प्रवक्ता शर्माले भने यो हाम्रो आन्दोलन हो, हामी एक्लै आन्दोलनमा जान्छौं ।
संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसमा आन्दोलनमा जाने वा नजाने भन्नेमा चाहीँ विवाद थियो । आइतबार पनि त्यस्तै विवाद भयो । बैठक बस्नु अगाडि नै करिव दुई घण्टा नेताहरुबीच छलफल चलेको थियो ।
केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो ।
सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जसरी पनि कांग्रेस आन्दोलनमा जानैपर्ने अडान राखेका थिए भने सभापति देउवाले सर्वोच्च अदालतको आदेश पर्खिनुपर्ने बताएका थिए ।
आइतबारको बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए । सिटौलाले पनि आन्दोलनमा जानै पर्ने धारणा राखे । वरिष्ठ नेता पौडेल र सिटौला पक्षधरको आवाज एउटै भएपछि सभापति देउवाले पनि आन्दोलनमा जान सहमति जनाएका थिए ।