नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद मीन विश्वकर्माको उपचारमा सहयोग गर्न आग्रह गरिएको छ। नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको हो। सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि ग्राण्डी अस्पपतालमा भर्ना भई उपचार गराइरहेका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत विश्वकर्माको स्वास्थ्यावस्थाबारे जानकारी गराउनुका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका हुन् ।
नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गर्नुभएको कांग्रेस संसदीय दलले जनाएको छ ।
सांसद विश्वकर्मामा निमोनिया देखिएको छ । श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ ।