कांग्रेसले तय गर्यो चुनावी नारा ‘जनताको साथमा कांग्रेस’

समाचार
0 Shares

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरेर भदौ १० गतेबाट सञ्चालन गर्न लागेको चुनावी अभियानको नारा ‘ जनताको साथमा कांग्रेस’ तय गरेको छ।

भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गर्न लागेको सो पार्टीले उक्त नारा तय गरेको हो। १५दिने उक्त अभियानमा ७७ जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिने पार्टी प्रवक्ता प्रकाशशरण महतले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

जिल्लामा खटिने प्रतिनिधिहरूलाई आइतबार एउटा अभिमुखी कार्यक्रमसमेत राखिएको महतले जानकारी दिए। यो अभियानमा विशेष गरेर जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुने उनले बताए। महतले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा के-के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ। चुनावमा तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ।’

केन्द्रीय प्रतिनिधिहरू तोकिएको ठाउँमा ५ दिनसम्म कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए। महतले दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेदवार तय भएपछि सञ्चालन गरिने पनि बताए।

महतका अनुसार केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य  लगायतको बैठक बोलाउने बताए। यो अभियानका लागि प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्ने उनले बताए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap