जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार सल्लाम स्थित केशरसिंह रानाको एउटा घर र एउटा गोठ पहिरोमा पुरिएर गोठमा भएका ४ वटा बाख्रा मरेका छन् । यस्तै विजयसिंह बुढाको एउटा घर र एउटा गोठ पुरिएका छन् भने दुइ वटा भैसी र ५ वटा खस्सीबाख्रा मरेका छन् । प्रहरीका अनुसार विर बहादुर रानाको पनि घर पहिरोमा बगेको छ । त्यस्तै गोपी बुढाको पनि गोठ पहिरोमा पुरिएको बताइएको छ।
घरगोठ पुरिएका पिडित परिवार सहित पहिरोको उच्च जोखिममा रहेका अन्य १० घर परिवारलाई नजिकैको विद्यालयमा राखिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । उनले भने, ‘प्रहरी चौकी कपुरकोट र अस्थायी प्रहरी पोष्ट रीमबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधी, स्थानीयहरुले उनीहरुलाई विद्यालयमा पठाएका छौँ । जोखिमयुक्त घरका मालसामान र वस्तुभाउ पनि निकालिएको छ ।’ पहिरोको उच्च जोखिममा रहेका सल्लाम गाउँकै दुर्गा बलाल, चूर्ण बलाल, भक्त बहादुर राना, कविराम राना, डण्ड बहादुर घर्ती, चन्द्रकली विक, विजय घर्ती, नर बहादुर बाँठा, मनिसा बाँठा र हस्तमणी बाँठाको परिवारलाई विद्यालयमा स्थानान्तरण गरिएको उनले जनाए ।
पहिरो पीडित परिवारलाई गाउँपालिकाको समन्वयमा स्थानीय मिलनबजार व्यवस्थापन समितिले खाना तथा विद्यालयमा बसाईको व्यवस्थापन गरिरहेको छ । पीडितहरुको राहतका लागि तत्काल आवश्यक निर्णय गरिने गाउँपालिका अध्यक्ष पुनले बताए। घटनास्थल पुगेका अध्यक्ष पुनले पहिरोका कारण भएको क्षतिको पुरा विवरण संकलन भइरहेको र पीडितहरुलाई नियमानुसारको राहत प्रदान गरिने बताए।