- १) विषयप्रवेश :
सिद्विचरण श्रेष्ठको जन्म वि.सं. १९६९ साल जेठ ९ गते मंगलबार जेठ शुक्ल पञ्चमी तिथिका दिन विहान ९ बजेर ४५ मिनेट जाँदा ओखलढुंगामा भएको हो। उनी नेपाली कविताको आधुनिक काल अन्तर्गत पर्ने स्वच्छन्दतावादी धाराको स्थापना ( लक्ष्मीप्रसाद देवकोटासँग मिलेर ) गर्नुका साथै यसै धारामा रही अमूल्य कविताकृतिहरू रचना गरी नेपाली कविताको भण्डारलाई संवृद्व गर्ने कार्यमा विशिष्ट योग दिने एक विराट प्रतिभा हुन। उनको कवित्वको प्रस्फुटन १९८४ सालमा भएको हो। यसैसाल उनले रचना गरेको ‘ सन्ध्या ‘ शीर्षकको कविता उनको नेपाली भाषाको प्रथम कविता हो। यस कवितामा स्वच्छन्दतावादी प्रवृत्ति भेटिन्छ। उनको नेपाल भाषाको भने ‘ तकुस्वाँ ‘ हो। यो कविता उनले १९८७ सालमा रचना गरेका हुन।उनको नेपाली भाषाको प्रथम प्रकाशित कविता ‘ भूकम्प – पीडितोद्वारक ऋण संस्था हो। यो कविता १९९१ सालको वैशाख ४ – ११ गतेको गोरखापत्रमा प्रकाशित भएको भएको हो। नेपाली साहित्यको इतिहासले १९९१ देखि २०१६ सालसम्मको अवधि नेपाली कविताको स्वच्छन्दतावादी काव्यधाराले नेतृत्व गरेको अवधि र सिद्दिचरण श्रेष्ठलाई यस धाराका सहप्रवर्तक ( अर्का सहप्रवर्तक लक्ष्मीप्रसाद देवकोटा ) मानेको छ। तर उनी सहप्रवर्तक नभै प्रवर्तक मध्येका एक ठहर्दछ्न। १९९१ साल मंसिर ८ गतेको गोरखापत्रमा सिद्दिचरण श्रेष्ठको ‘ साहित्यिक नेपाल ‘ शीर्षकको स्वच्छन्दतावादी कविता प्रकाशित भएको छ। यस कविताका मूलभूत प्रवृत्तिहरू आत्मपरकता, पूर्वीय अतीतोन्मुखता, रहस्यात्मकता, म्लेच्छ्हरूप्रति विद्रोह , नेपाली प्रकृतिको चित्रण, काल्पनिकता आदि हुन। १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा लक्ष्मीप्रसाद देवकोटाको ‘पूर्णिमाको जलधि’ शीर्षकको स्वच्छन्दतावादी कविता प्रकाशित भएको छ। १९९१ सालमा स्वच्छन्दतावादी कविता प्रकाशनका दृष्टिले देवकोटाभन्दा श्रेष्ठको उदय एक हप्ता अगि भएको छ। १९९१ सालमा सिद्दिचरण श्रेष्ठको उदय हुनुभन्दा पहिले भीमनीधि तिवारीको १९९१ साल भदौ ८ गतेको गोरखापत्रमा ‘ सूर्यघाट’ शीर्षकको स्वच्छन्दतावादी कविता प्रकाशित भएको पाइनाले उनी नेपाली स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तकमध्येका एक हुन भन्नु उपयुक्त ठहर्दछ। सिद्दिचरण श्रेष्ठको जीवनका प्रमुख पक्षहरूमा साहित्यिक स्रष्टा व्यक्तित्व , समालोचक व्यक्तित्व , सामाजिक – राजनीतिक व्यक्तित्व र पत्रकार व्यक्तित्व पर्दछ्न। उनले नेपाल भाषा र नेपाली भाषा दुवै भाषा साहित्यमा कविता, आख्यान, नाटक र निबन्ध गरी चारवटै विधामा कलम चलाएका छ्न।साहित्यिक व्यक्तित्वमा उनको कवि व्यक्तित्व नै अमर बनेर देखा परेको छ। उनले नेपालीमा छ सय जति फुटकर कविता रचना गरेका छन। नेपाली हालसम्म उनका सातवटा कविता सङ्ग्रह प्रकाशित छन। ती हुन- ‘कोपिला'(२०२१), ‘मेरो प्रतिविम्ब'(२०२१), ‘कुहिरो र घाम'(२०४५), ‘सिद्दिचरणका प्रतिनिधि कविता'(२०४५), ‘बाँचिरहेको आवाज'(२०४६), ‘तिरमिरे तारा'(२०४६), र ‘झिलिमिली जुनकीरी'(२०५९)। उनले नेपाली भाषामा पन्ध्रवटा खण्डकाव्य रचना गरेका छन। ती हुन- ‘जुवा’, ‘जुनकीरी’, ‘विश्वव्यथा’, ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘शवरी’, ‘आँशु’, ‘कान्तिमती’, ‘युद्ध र शान्ति’, ‘मङगलमान’, ‘मूल बाटो’, ‘भीमसेन थापा’, ‘नेपाल’, ‘आत्म बिलौना’ र ‘देवघाट’। उनका समग्र खण्डकाव्यहरुमध्ये ‘उर्वशी'(२०१७) नै एक उत्कृष्ट प्राप्तिका रुपमा देखापर्दछ। ‘उर्वशी’ खण्डकाव्यलाई नेपाल भाषामा पनि अनुवाद गरिएको छ। उनले नेपाली भाषाका साथै नेपाल भाषामा पनि फुटकर कविताका साथै खण्डकाव्यहरू पनि रचना गरेका छन। उनको देहावसान २०४९ साल जेठ २२ गते ८० वर्ष १४ दिनको उमेरमा विहान ७ बजे श्वासप्रश्वास तथा मुटु सम्बन्धी व्यथाबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा भएको थियो ।
२) द्वन्द्वविधानको परिचय र ‘उर्वशी’ खण्डकाव्यमा द्वन्द्वविधान:
सामान्य अवस्थामा द्वन्द्व भन्नाले लडाइँ तथा युद्ध भन्ने बुझिन्छ तर साहित्यिक भाषामा यसको अर्थ अलि भिन्न हुन्छ। द्वन्द्वको सिर्जना हुनका लागि दुई बिरोधी शक्तिको आवश्यकता पर्दछ। यसप्रकार परस्पर विरोधी दुई व्यक्ति, शक्ति वा परिस्थितिका बीचमा हुने संघर्षलाई द्वन्द्व भनिन्छ (लुइँटेल, २०६०:८३)। यो मूलरूपमा नाटकीय र आख्यानात्मक कृतिमा प्रवल रहन्छ। द्वन्द्वको केही कारण तथा उदेश्य रहेको हुन्छ। यो कार्यव्यापारका रूपमा उत्पन्न हुन्छ र यसको विकास तथा विस्तार पनि कार्यव्यापार कै रूपमा हुनेगर्दछ। यो विरोधी शक्ति तथा भावबीचको संघर्ष हो। द्वन्द्व व्यक्ति-व्यक्तिका बीचमा , व्यक्ति र समाज तथा परिवेशका बीचमा, व्यक्ति र प्रकृति तथा भौतिक जगतका बीचमा, व्यक्ति र परिस्थितिका बीचमा तथा एउटै व्यक्तिका विपरीत भाव वा विचारका बीचमा हुनसक्छ( लुइँटेल, २०६०:८४)।
यस्ता विभिन्न द्वन्द्वहरुलाई मूलरूपमा आन्तरिक र वाह्य गरी दुई वर्गमा विभाजन गरेको पाइन्छ। व्यक्ति र व्यक्ति, व्यक्ति र समाज, व्यक्ति र प्रकृति तथा व्यक्ति र परिस्थिति बीचको द्वन्द्वलाई वाह्य द्वन्द्व भनिन्छ भने एउटै व्यक्तिका मनमा उत्पन्न हुने विपरीत भावहरुलाई आन्तरिक द्वन्द्व भनिन्छ। साहित्यिक कृतिमा यी दुवै प्रकारका द्वन्द्वको सिर्जना भएको पाइन्छ। यसैगरी ‘उर्वशी’ खण्डकाव्यको एक महत्त्वपूर्ण पक्ष द्वन्द्व पनि हो। यसमा पात्रगत द्वन्द्व र कविको मानसिक अन्तर्द्वन्द्व गरी मूलतः द्वन्द्वका दुई पक्ष फेला पर्दछन। पात्रको मानसिक अन्तर्द्वन्द्व र पात्र पात्रका बीचको वाह्य द्वन्द्व गरी पात्रगत द्वन्द्वका दुई उपभेद छन। कविको मानसिक अन्तर्द्वन्द्व भने यस खण्डकाव्यको पहिलो खण्ड र उपसंहार खण्डमा देखिएको चिन्तनगत भिन्नता हो।
यस खण्डकाव्यकी प्रमुख स्त्री पात्र उर्वशीमा कुनैप्रकारको अन्तर्द्वन्द्व छैन। यस खण्डकाव्यमा उनी एक भोगवादी स्त्रीका रुपमा देखा परेकी छिन। उनको लक्ष्य भोग हो र अर्जुनसँगको भोगमा रमाउनु नै उनको प्रमुख ध्येय हो। उनमा केवल अर्जुनले आफूलाई भोग गर्लान या नगर्लान भन्ने पिरलो छ। कुनै कार्य हुन्छ वा हुदैन भनेर मनमा कुरा खेलाउनु मनोवाद हो; द्वन्द्व होइन। नन्दन वनमा आयोजित अर्जुनको स्वागत समारोहमा नचरीका रुपमा प्रस्तुत भएकी उर्वशी त्यसै बेलादेखि अर्जुनसँग भोगको चाहना राख्दछिन तर उनले सफलता हात पार्न सक्तिनन।
यस खण्डकाव्यका प्रमुख पुरुष पात्र अर्जुन त्यागी भए तापनि कविले उनलाई वासनाको लेप लगाइदिएर उनमा अन्तर्द्वन्द्वको सिर्जना गरेका छन। जस्तै:
शान्ति अशान्ति दोभानमहाँ
मनको नाउ छ ढलपल
छाडूँ पक्रूँ बीचको द्वन्द्व
हृदय छ अलमल अलमल ।
(उर्वशी, पृ. ४३)
वास्तवमा अर्जुन उर्वशीको मायाजालबाट पटक्कै डगेका छैनन। पाठकहरुका मनले अर्जुनलाई डगाउन सक्तैनन्। अर्जुन एक वीर पुरुष र साधक पनि हुन। अर्जुनले उर्वशीलाई क्षणिक सुख सम्झन्छन्। उनले भोगलाई गरलपान भन्दै आफ्नो साधना पथलाई निरन्तरता दिएका छन। यस प्रकार अन्तमा अर्जुनले भोगलाई पराजित गरेका छन। यस खण्डकाव्यमा पाइने द्वन्दविधाको अध्ययन निम्नलिखित शीर्षकहरूका आधारमा गर्न सकिन्छ:
२.१) हृदय र बुद्धिबीचको द्वन्द्व :
‘उर्वशी’ खण्डकाव्यमा हृदय र बुद्धिबीचको द्वन्द्व प्रवल रुपमा देखापर्दछ। उर्वशी हृदयकी प्रतीक हुन भने अर्जुन बुद्धिका प्रतीक हुन। कविले आत्मअन्तर्द्वन्द्वलाई देखाउन सिर्जना गरेका पात्रहरू अर्जुन र उर्वशी( कोइराला, २०३७:१२७) माध्यम पात्र हुन।मानवमा हृदय र बुद्धि दुवै पक्ष रहेका हुन्छ्न र सुरुमा कविले बुद्धिलाई प्राथमिकता दिएका छन भने पछि उनी हृदयतर्फ कोल्टो फेरेका छ्न। पहिले कवि अर्जुनका पक्षमा देखिनु र पछि उर्वशीका पक्षमा देखिनु तथा उर्वशीलाई सान्त्वना दिनुबाट यसको पुष्टि हुन्छ। कवि जेलभित्र रहँदा अठ्ठाइसवर्षे जवान थिए र उनी त्यस समयमा अर्जुनप्रति आस्थावान थिए तथा बुद्धिको पक्षमा थिए तर समयको गतिसँगै उनी यस खण्डकाव्यलाई पूर्णता दिने क्रममा उर्वशीलाई सान्त्वना दिँदै हृदयका पक्षमा उभिएका छन। यस तथ्यलाई प्रस्तुत कवितांशबाट पुष्टि गर्न सकिन्छ:
उर्वशी! व्यर्थ नगर बिलौना
पुग्नु-नपुग्नु मनोरथ
कडी-कडीको सम्बन्ध सदृश
हो जीवनको नै क्रम (पृ . ६९)
अर्जुन र उर्वशी दुई विपरीत ध्रुवमा उभिएका पात्रहरु हुन तर कविले दुवै पात्रप्रति सहानुभूति प्रकट गरेका छन। यसो नभएको भए स्वत: एउटाको जय र अर्काको क्षय हुने थियो तथा द्वन्द्व चरम अवस्थामा पुग्ने थिएन । उर्वशी अर्जुनको कोठामा हृदय भरि भोगको तीव्र चाहना बोकेर गएकी थिइन् तर अर्जुन बुद्धि र विवेकले काम गर्ने पात्र भएकाले उर्वशीको चाहना पूरा हुनसकेन। यसकारण त्यस समयमा अर्जुनको जीत र उर्वशीको हार तथा बुद्धिको जीत र हृदयको हार भएको छ। अन्तमा गएर कविले उर्वशीलाई सान्त्वना दिएका छ्न तथा उनीप्रति सहानुभूति प्रकट गरेका छन र हृदय र बुद्धिबीचको द्वन्द्व चरम अवस्थामा पुगेको छ।
२.२) आदर्श र यथार्थबीचको द्वन्द्व
‘उर्वशी’ खण्डकाव्यमा पाइने द्वन्द्वको अर्को पाटो आदर्श र यथार्थबीचको द्वन्द्व पनि हो। तरुणी उर्वशीले तरुण अर्जुनलाई भोग गर्न आह्वान गर्दा पनि अर्जुन आफ्नै निष्ठामा रहनु, नैतिकता पालना गर्नु, कामवासनालाई बुद्धिले नियन्त्रण गर्नु आदर्श हो( आचार्य र गौतम, २०६१:१३६)। अर्जुनले आदर्शवादी प्रवृत्तिको प्रतिनिधित्व गरेका छन। आदर्शवाद आदर्शको अनुसरण गर्न तथा गराउन प्रेरित गर्ने सिद्धान्त तथा जीवनदृष्टि हो र यो यथार्थवादको ठिक विपरीत ध्रुवमा पर्दछ। ‘उर्वशी’ खण्डकाव्यमा अर्जुनको जीत भएको देखाइएको छ। यो आदर्शको जीत हो तर दुई युवायुवती एकान्त स्थलमा रहँदा दुवैमा पक्कै पनि भोगको चाहना उत्पन्न हुन्छ र यो यथार्थ कुरा हो। उर्वशीले भोगको प्रस्ताव राख्दा अर्जुनले अस्वीकार गरेकोले यहाँ यथार्थ पक्ष छाँयामा परेको छ। भोगको चाहना सबैमा हुन्छ र यस प्रवृत्तिलाई कविले उर्वशीको चरीत्रबाट स्पष्ट पारेका छन। यसप्रकार उर्वशीले यथार्थ पक्षको प्रतिनिधित्व गरेकी छन र उनमा यथार्थवादी जीवनदृष्टि भेटिन्छ।
जब उर्वशी अर्जुनको कोठामा जान्छिन तब अर्जुनको मनमा उर्वशीको हात समाऊँ समाऊँ तथा भोग गरूँ गरूँ भन्ने भावना उत्पन्न हुन्छ तर अर्जुनले आदर्शको कसीले आफूलाई नियन्त्रण गर्दछ। यसप्रकार यहाँ आदर्श र यथार्थबीचको द्वन्द्व चरम अवस्थामा पुगेको छ। यस तथ्यलाई तलका पङ्क्तिहरुबाट प्रष्ट पार्न सकिन्छ:
मन हुन्छ उठी हात समाउन
अर्को भन्दछ हैन
सुधापान छ, गरल असार छ
यसलाई छुन हुन्न। (पृ .४३)
२.३) अध्यात्मवाद र भौतिकवादबीचको द्वन्द्व :
‘उर्वशी’ खण्डकाव्यमा अध्यात्मवाद भौतिकवादबीचको द्वन्द्व पनि प्रवल रूपमा आएको छ। अध्यात्मवाद अध्यात्मसम्बन्धी चिन्तन हो भने भौतिकवाद उपयोगिताका भौतिक वस्तु तथा सुख-सुविधालाई बढी महत्त्व दिने दृष्टिकोण हो।
अर्जुन कर्मवादी चिन्तनयुक्त आध्यात्मिक व्यक्तित्व हुन। उनले अध्यात्मवादी चिन्तनलाई अपनाएको पाइन्छ भने उर्वशी भौतिकवादी प्रकृतिकी चरीत्र हुन। उनले भौतिकवादको प्रतिनिधित्व गरेकी छन। अर्जुन जस्तोसुकै सुखसुविधा पाए पनि त्यसलाई केही मतलब नराखी कर्तव्यमार्ग तथा कर्ममार्गमा निरन्तर अगि बढिरहन्छ्न। यसैक्रममा उनले दानवहरुलाई संहार गर्दै देवताहरुको उद्दार गर्ने कार्य गरेका छन। उर्वशीले भौतिकवादको प्रतिनिधित्व गरेका कारण उनी भोगलाई नै जीवनको वास्तविकता सम्झिन्छिन। यसर्थ उनमा भोगवादी प्रवृत्ति प्रवल देखिन्छ। यसैकारणले उनी भौतिक सुखसुविधातिर उन्मुख भएकी छन।
कवि श्रेष्ठ पहिले अर्जुनको पक्षमा देखिएका छन भने पछि उर्वशीतिर ढल्किएका छन र उर्वशीको भूमिकामा लेखेका छन: ‘यसरी यो अठचालीस वर्षको उमेरमा पुगेर हेर्दा म आफूलाई अर्जुन होइन उर्वशी भइरहेको पाउँछु। उर्वशी म हुँ, अर्जुन मेरो आकाङ्क्षा र अर्जुनलाई आफ्नो एकलौटी पार्न नसकिएको कारणसमेतले गर्दा म विचलित भएको छु’ (उर्वशीको भूमिकांश)।
यसप्रकार कविको मानसपटलका साथै ‘उर्वशी’ खण्डकाव्यमा अध्यात्मवाद र भौतिकवादबीचको द्वन्द्व प्रवल रहेको देखिन्छ। कवि अर्जुन र उर्वशी दुवैप्रति सहानुभूति प्रकट गर्दछन तर बुढ्यौलीका कारण कविमा केही विचलन देखापरे तापनि उनी मूलरूपमा अर्जुनको पक्षमा देखिन्छन् र उर्वशीको हारप्रति सहानुभूति प्रकट गर्दछ्न। स्वच्छन्दतावादी कविहरूमा अध्यात्मवादी तथा ईश्वरवादी दृष्टिलाई आफ्ना कविताकृतिमा उपयोग गर्ने प्रवृत्ति भेटिनुबाट पनि कवि मूलरूपमा अर्जुनको पक्षमा रहेका भन्ने कुराको पुष्टि हुन्छ। यसप्रकार ‘उर्वशी’ खण्डकाव्यमा अध्यात्मवादले जितेको छ र भौतिकवादले सहानुभूति मात्र प्राप्त गरेको छ।
२.४) चेतन मन र अचेतन मनको द्वन्द्व :
‘उर्वशी’ खण्डकाव्यमा चेतन मन र अचेतन मनको द्वन्द्व पनि सशक्त रूपमा आएको छ। अर्जुन चेतन मनका प्रतीक हुन भने उर्वशी अचेतन मनकी प्रतीक हुन्। मान्छेको क्रियाकलापमा पनि चेतन मन र अचेतन मनले भूमिका खेलिरहेको हुन्छ भन्ने मत मनोवैज्ञानिकहरूले अगि सारेको पाइन्छ र यो हरेक व्यक्तिमा लागु हुन्छ। यसबाट कवि पनि अछुत रहन सकेका छैनन्। कविको चेतन मन अर्जुनजस्तो विजयी बन्न चाहन्छ किन्तु मनोभावहरू अचेतन मनबाट स्वत: निस्किरहन्छ्न र यौवनमत्त उर्वशीलाई प्रतिविम्बित गरी रसात्मक क्षतिपूर्ति गर्छन( कोइराला, २०३७:१२८)।
एकान्त परिवेशमा रहँदा भोगको चाहनाले मानवलाई बढी सताउँछ। यसैगरी ‘उर्वशी’ खण्डकाव्यको पहिलो अंश पनि कविको जेलजीवनको उपज भएकाले पनि यस कुराको पुष्टि हुन्छ। त्यस वेला कवि अठ्ठाइसवर्षे जवानीको अवस्थामा रहेकाले कामवासनाको अवस्था पक्कै पनि बढी नै थियो होला। फ्राइडले साहित्यलाई कामवासनाको क्षतिपूर्तिका रुपमा व्याख्या गरेको पाइनुबाट पनि यससम्बन्धी बलिया आधारहरू भेटिन्छन्।
अर्जुन उर्वशीको नजिक जाँदा अर्जुनको अचेतन मनले उर्वशीलाई समाएर चुम्बन गर्ने सोच्दछ। उनको चेतन मनले यसो गर्नु हुदैन भन्दछ। यसलाई कविले यसरी देखाएका छन:
छोऊँ छोऊँ मन अति हुन्छ
तर छुन साहस हुन्न
चुमूँ चुमूँ कति मनमा हुन्छ
तर यसै चुम्न सकिन्न। ( पृ .३४)
यसप्रकार सुरुमा कवि अर्जुनको पक्षमा देखिएका छन र यहाँ अर्जुनको तथा चेतन मनको जित भएको देखाइएको छ भने उर्वशीको तथा अचेतन मनको हार भएको देखाइएको छ। अन्तमा कविले उर्वशीलाई सान्त्वना दिनुबाट भने चेतन मनको मात्र विजय भएको छ भन्न सकिदैन। यसप्रकार ‘उर्वशी’ खण्डकाव्यमा चेतन मन र अचेतन मनको द्वन्द्व यत्रतत्र छ र सुरुमा चेतन मन्ले जिते पनि अन्तमा यसले मात्र जितेको छ भन्न मिल्दैन।
२.५) पूर्वभाग र उपसंहारको धारणामा कवि स्वयमको अन्तर्द्वन्द्व:
‘उर्वशी’ खण्डकाव्यमा पाइने द्वन्द्वविधानको एक महत्त्वपूर्ण पाटो कवि स्वयमको अन्तर्द्वन्द्व पनि हो। उर्वशीको पूर्वरुप र उपसंहारका धारणाहरुको अन्तर्द्वन्द्व जहाँ कविका दुई उमेर व दुई धारणालाई देखाउने जीवनदृष्टिहरुको द्वन्द्व( पोखरेल,२०६२:१४७) रहेको छ। लेखनकाला र प्रकशनकालको बेलामा देखिएका कविका मनका अन्तर्द्वन्द्वहरू यस खण्डकाव्यमा भेटिन्छन। यस काव्यको पहिलो खण्ड लेख्ने बेलामा कवि अठ्ठाइसवर्षे युवक थिए र उनले क्रान्तिकारी वैचारिक चेतनालाई जीवनको सार सम्झन्थे। यसर्थ त्यसबेला उनी अर्जुनजस्तै यौद्वा भएर समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने भावना राख्दथे। वि.सं. १९९७ सालको सहिद काण्डको छाप पनि कविमा परेको देखिन्छ। त्यसबेला उनी आफूलाई अर्जुनको मार्गमा हिँडाउन चाहन्थे। यसैको परिणामस्वरूप उनले पाँच वर्षको जेलजीवनको पीडा पनि सहनुपर्यो। यसो भए तापनि त्यस बेला कविका मनमा राग र विरागबीचको द्वन्द्व भने चलिरहेको पाइन्छ। यसलाई निम्नलिखित कवितांशबाट स्पष्ट पार्न सकिन्छ:
राग – विराग दुइटा लामा
रेखा छन खिचिएका
कुनमा हालूँ पाउ म मेरो
लाग्दछ अति आशङ्का। (पृ.४५)
यसो भए तापनि कवि काव्यको पहिलो खण्डमा अर्जुनकै पक्षमा छन र विषयभोगलाई विष ठान्दै त्यसलाई त्यागेर अगि बढनुपर्ने धारणा राख्तछन। यसलाई कवितांशबाट स्पष्ट पार्न सकिन्छ:
उठ्न छ गाह्रो, गिर्न छ सजिलो
मैले गिर्न हुँदैन
प्यारो राम्रो भन्दैमा यो
विषलाई पिउन हुँदैन । (पृ. ४९)
यसरी काव्यको पहिलो खण्डमा कवि अर्जुनको विजय कहानीलाई आत्मसात गर्दै आफ्नो जीवनपथमा अगि बढ्ने धारणा राख्दछन भने काव्यको उपसंहार खण्डमा उनी विचलित भएका छन र उर्वशीप्रति सहानुभूति प्रकट गर्दै आफूलाई उर्वशीमा आरोपित गरेका छन। ‘उर्वशी’ खण्डकाव्यको पहिलो खण्ड रचना गर्ने बेला कवि अठ्ठाइसवर्षे जवान थिए भने पछि उपसंहार खण्डको रचना गर्ने बेला उनी अठचालीस वर्षका भैसकेका थिए तथा उनमा बुढयौलीपनले छोइसकेको थियो। यही कारणले गर्दा पनि कविमा विचलन आएको हुनसक्छ।
३) निष्कर्ष :
सिद्दिचरण श्रेष्ठका समग्र काव्यकृतिहरूमध्ये ‘उर्वशी’ एक महत्त्वपूर्ण प्राप्ति रूपमा देखापर्दछ र यस खण्डकाव्यमा पाइने द्वन्द्वविधान नै यसको मुख्य विशिष्टता हो र नेपाली खण्डकाव्य परम्परामा द्वन्द्वविधानका दृष्टिले ‘उर्वशी’ सर्वश्रेष्ठ काव्यकृतिका रूपमा देखापर्दछ। पात्रगत द्वन्द्व र कवि स्वयमको अन्तर्द्वन्द्व नै यस खण्डकाव्यमा पाइने द्वन्द्वविधानका मूल पाटाहरु हुन।
सन्दर्भग्रन्थसूची
अवस्थी, महादेव, आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श,( काठमाडौं : इन्टेलेक्चुअल्ज बुक प्यालेस, २०६४)।
आचार्य , कृष्णप्रसाद र नारायण प्रसाद गौतम, आधुनिक नेपाली खण्डकाव्य र महाकाव्य, ( काठमाडौं : दीक्षान्त पुस्तक भण्डार,२०६१)।
कोइराला, शम्भुप्रसाद, सिद्दिचरण श्रेष्ठको जीवनी व्यक्तित्व र कृतित्वको विवेचना, ( स्नातकोत्तर शोधपत्र, त्रि. वि., २०३७)।
पोखरेल, राजनप्रसाद, सिद्दिचरण श्रेष्ठ र उनको उर्वशी खण्डकाव्य, कुन्जिनी, ( वर्ष १२,अङ्क ९, २०६२ असोज)।
लुइँटेल, खगेन्द्रप्रसाद, कविता सिद्धान्त र नेपाली कविताको इतिहास, ( काठमाडौं : ने. प्र. प्र., २०६०)।
सापकोटा, माधवप्रसाद, सिद्दिचरण श्रेष्ठको खण्डकाव्यकारिता, ( काठमाडौं : जगदीश समशेर राणा, सन २०१४)।
श्रेष्ठ, सिद्दिचरण, उर्वशी, सातौं संस्करण, ( काठमाडौं : साझा प्रकाशन, २०५८)।