नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापर्वाहीको छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गरेका छन् । अख्तियारमा भइरहेका लापरर्वाहीको छानविन र पदाधिकारीहरुलाई जिम्मेवार बनाउन पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गरेका हुन् ।
नेता पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारका मुद्दाहरु ‘ढिसमिस’ पारेर आफूले पाएको अख्तियारी दुरुपयोग गरिरहेको भन्दै आपत्ति पनि जनाएका छन् ।
नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको फाइल अख्तियारले तामेलीमा राख्न खोजेको प्रति आपत्ति जनाउँदै नेता पौडेलले एक अर्ब ३४ करोडको चलखेल भनिएको उक्त चर्चित प्रकरण यसरी ढिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भइरहेको छ । माझीले नै डुंगा डुबाउन लागेपछि कसले पार लगाउने ? यस्ता काम कारबाही किन भइरहेका छन् ? भनेर प्रश्न गरेका छन।
यसअघि पनि विभिन्न भ्रष्टाचारहरु भइरहेको दाबी गर्दै तिनको तदारुकताका साथ छानविन गरेर दोषी उपर कारबाही चलाउने र राष्ट्रमा भइरहेका ब्रम्हलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती देखिएको छ। यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापर्वाहीहरु उपर छानविन र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरुलाई जिम्मेवार बनाउन एक जना पूर्व न्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका छन।